कानेपोखरीः जिल्लान्तर सरुवाको माग गर्ने महिला शिक्षकलाई यौन प्रस्ताव राख्ने मोरङको कानेपोखरी गाउँपालिका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेलाई कारवाही गर्न नेपाल शिक्षक महासंघले माग गरेको छ ।
महासंघ जिल्ला समिति मोरङका अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाले एक विज्ञप्ति जारी गर्दै काफ्लेलाई कानून बमोजिम कारवाही गर्न माग गरिएको हो । शारीरिक सम्बन्धको प्रस्ताव राखेको विषय उल्लेख भएको सामाजिक सञ्जाल म्यासेन्जरमा पठाइएको सन्देशको स्क्रिनसटसहित ती शिक्षकले नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङमा निवेदन दिएकी थिइन् ।
‘पदीय मर्यादा, निजामति सेवाको आचरण र आचारसंहिता विपरीत सरकारी कर्मचारीबाट भएको यस्तो निन्दनीय हर्कतप्रति खेद प्रकट गर्दछौं,’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई निःस्वार्थ सेवा दिनुपर्ने कर्मचारीबाट भएको यस्तो व्यवहारको उचित छानविन गरी दोषी ठहरिए प्रचलित कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै न्याय निरुपणका सन्दर्भमा नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङ पीडितका पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’