गोठगाउँः सुन्दरहरैंचा महिला मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान पनि गरेको छ । मञ्चले वडाभित्रका ९० वर्षमाथिका सबै ज्येष्ठलाई सम्मान गर्ने योजना बनाए पनि स्वास्थ्य प्रतिकूलताका कारण सबै ज्येष्ठहरु कार्यक्रममा उपस्थित हुन नसक्नुभएको मञ्चकी अध्यक्ष मीना ओझाले बताउनुभयो । कार्यक्रममा वडाकै सबैभन्दा ज्येष्ठ १०४ वर्षीया पदमकुमारी दर्जीलगायत १२ जनालाई दोसल्ला, नगद र फलफूल प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले नयाँ वर्षको पूर्वसन्ध्यामा ज्येष्ठको नमन गरेर संस्था सञ्चालनको लागि आशीर्वाद माग्नु संस्थाको रचनात्मक र सह्रानीय काम भएको बताउनुभयो ।
संस्थाका सल्लाहकार रवीन्द्र आचार्यले पछिल्लो समय सुन्दरहरैंचामा महिलाद्वारा सञ्चालित संस्था बढ्दै गएका र सुन्दरहरैंचा महिला मञ्चले बालकदेखि ज्येष्ठ नागरिकसम्मको सम्मान गरेर रचनात्मक काम गरिरहेको बताउनुभयो ।
संस्थाकी सचिव विमला अधिकारीको जन्मदिनको अवसरमा भएको कार्यक्रमको आधा खर्च अधिकारीले प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने चलन बढिरहेको समयमा होटलमा हुने खर्चलाई सामाजिक र रचनात्मक काममा लगाउन आफूले फरक तरिकाले जन्मदिन मनाउने सोच बनाएको संस्थाकी सचिव अधिकारीले बताउनुभयो ।
कार्यक्रमका सहभागीले अधिकारीको सुस्वास्थ्यको कामना गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन संस्थाकी सह सचिव जानुका ओझाले तथा सभापतित्व संस्थाकी अध्यक्ष मीना ओझाले गर्नुभएको थियो ।