चतराः सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा हिजोदेखि पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुरु भएको छ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । मेला वैशाख शुक्ल तृतीया (अक्षय तृतीया) अर्थात् वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा राष्ट्रपति पौडेललाई महाकुम्भ मेला मूल आयोजक समितिको तर्फबाट नागरिक अभिनन्दन समेत गरिएको थियो । समारोहमा राष्ट्रपतिले पौडेलले सप्तकोसीमा जल अभिषेक, पूजा आराधना तथा र राधास्वर्णेश्वरको पूजा एवम् कुम्भ घडाको दर्शन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक मेला, पर्व, उत्सवहरूले नेपालीहरूमा सद्भाव, भाइचारा बढाउने बताउनुभयो । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा वराहक्षेत्र, चतराधाम, रामधुनी, पिण्डेश्वरको महत्त्व धेरै ठुलो रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार प्राकृतिक सम्पदा, धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धनमा लागिपरेको बताउनुभयो ।
स्वागत मन्तव्य राख्दै वराहक्षेत्रका नगर प्रमुख तथा मेला मूल समारोह समितिका सहअध्यक्ष रमेश कार्कीले पूर्ण महाकुम्भ मेला आयोजनामा सङ्घीय र प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । वराहक्षेत्रलाई धार्मिक नगरीको रूपमा विकास गर्न स्थानीय सरकारले योजना बनाएको र यसलाई सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारलाई उहाँले आग्रह गर्नुभएको थियो ।
नेपाल राष्ट्रका प्रथम जगद्गुरु तथा कुम्भ मेलाका शुरुवातकर्ता बालसन्त मोहनशरण देवाचार्यले चतराधाममा लाग्ने नेपालको एक मात्र कुम्भ मेलाको पूर्ण रूपमा स्वामित्व सरकारले लिनुपर्ने बताउनुभयो ।
चतराधाममा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि १ महिना कुम्भ मेला लागेर नेपालमा कुम्भ मेलाको शुरुवात भएको थियो ।