ताप्लेजुङः ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा ८ वटा सामुदायिक विद्यालयबाट सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । ४ वटा विद्यालयका कुनै पनि विद्यार्थी परीक्षामा उत्तीर्ण हुन सकेनन् ।
मैवाखोला गाउँपालिकाको शिक्षा शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि वैशाख १० गते परीक्षा दिन पाउने भएका छन् ।
गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गर्नुका साथै उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट परीक्षण गराएको थियो ।