Tuesday, December 24, 2024
Homeखेलकुदसुन्दरहरैंचा वडास्तरीय मेयरकप फुटबलः २ का विरुद्ध ५ गोल गर्दै वडा नम्बर...

सुन्दरहरैंचा वडास्तरीय मेयरकप फुटबलः २ का विरुद्ध ५ गोल गर्दै वडा नम्बर १० अघिल्लो चरणमा

गोठगाउँः सुन्दरहरैंचामा वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । वडा नम्बर ७ को खेलमैदानमा सोमबार शुरु भएको प्रतियोगितामा वडा नम्बर १२ लाई २ का विरुद्ध ५ गोल गरी पराजित गर्दै वडा नम्बर १० अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खेलको पाँचौँ मिनेटमा वडा नम्बर १० का जर्सी नम्बर ८ का मदन मगरले प्रतियोगिताको पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए । पहिलो गोल भएको ४ मिनेटमै अर्थात् खेलको नवौँ मिनेटमा वडा नम्बर १० कै जर्सी नम्बर ९ का कुशल राईले थप गोल गर्दै आफ्नो टिमलाई २–० को स्थितिमा पुर्याएका थिए ।

त्यसपछि २० मिनेटसम्म कुनै टिमबाट पनि गोल भएन । यद्यपि दुवै पक्षले केही राम्रा प्रहार गरेका भए पनि गोलरक्षकले ती प्रहार विफल बनाएका थिए । केही राम्रा प्रहार गर्ने अवसर खेलाडीले गुमाएका पनि थिए । खेलको ३० औँ मिनेटमा वडा नम्बर १२ का नगेन्द्र लिम्बूले गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए ।

खेलको दोस्रो हाफमा वडा नम्बर १० का खेलाडी जर्सी नम्बर १० का वीरेन्द्र लिम्बूले ह्याट्रिक गरेका थिए । उनले दोस्रो हाफको सातौँ, एक्काइसौँ र उनन्तीसौँ मिनेटमा गोल गरेका थिए । उनको ह्याट्रिकसँगै वडा नम्बर १० ले जम्मा ५ गोल गर्न सफल भयो ।

वडा नम्बर १२ का तर्फबाट दोस्रो हाफमा १ गोल भएको थियो । जर्सी नम्बर १३ का खेलाडी राजेश लिम्बूले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए । उनलाई जर्सी नम्बर १४ का खेलाडी गौरवजंग कार्कीको सट्टामा प्रशिक्षकले मैदान प्रवेश गराएका थिए । प्रतियोगितामा अन्य खेलाडीले गोल गर्न सकेनन् ।

प्रतियोगितामा दुवै टिमका एकएक जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । वडा नम्बर १० का टिम क्याप्टेन जर्सी नम्बर १४ का खेलाडी महेन्द्र कार्की र वडा नम्बर १२ का जर्सी नम्बर १२ का खेलाडी अलेष बिष्टलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

खेलको म्यान अफ द म्याच ह्याट्रिक गर्ने खेलाडी वीरेन्द्र लिम्बू घोषित हुँदै पुरस्कार हात पारे ।

प्रतियोगिताबाट वडा नम्बर १२ बाहिरिएको छ भने वडा नम्बर १० चैत ३० गते वडा नम्बर ११ सँग आमनेसामने हुनेछ ।

आजको खेल वडा नम्बर १ र वडा नम्बर ५ बीच हुनेछ ।

नगर खेलकुद विकास समिति सुन्दरहरैंचाको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिता उद्घाटनको औपचारिक कार्यक्रम नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठको सभापतित्वमा भएको थियो भने स्वागत मन्तव्य समीक्षा कार्कीले गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्बर राईले गर्नुभएको थियो । उद्घाटन सत्रमा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्यहरु, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments