काठमाडौंः ७७ जिल्लाकै सार्वजनिक तथा सामुदायिक विद्यालयहरूको भौतिक विवरण पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई पत्राचार गरेको छ ।
सामुदायिक विद्यालयको नाम, ठेगाना, जग्गाको कित्ता नम्बर र क्षेत्रफल, विद्यालयको नाममा दर्ता भएको वा नभएको विवरण तथा जग्गाको प्रयोगको अवस्थासहित लालपुर्जा, फिल्ड बुक र नक्सा समेतको विवरण २१ दिनभित्र मन्त्रालयमा पठाउन पत्राचार गरिएको बताइएको छ ।
स्थानीय तहको सहयोग र समन्वयमा विवरण पठाउन अनुरोध गरिएको छ । विद्यालयका जग्गा अतिक्रमणमा परेको, सार्वजनिक विद्यालयका जग्गा विभिन्न पक्षले हडपेको र पहुँचवालाहरूले दुरूपयोग गरिरहेको लगायतको गुनासो प्राप्त गरेपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालयको जग्गा विवरण माग्नुभएको हो ।