जनकपुरः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १४ वटै जिल्लाका जिल्ला–नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरुलाई अन्तर प्रदेश भ्रमण थालेको छ ।
यसै क्रममा शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुर आइपुगेका संघका ३० जना सचिवालय प्रमुखलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र जनकपुर उद्योग वाणिज्य संघमा अध्ययन तथा सिकाई अनुभव आदानप्रदान गरिएको छ ।
संघका कार्यालय सचिवहरुले मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा र गण्डकी प्रदेशको पोखरासम्म पुगेर अध्ययन तथा सिकाई भ्रमण सम्पन्न गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीका अनुसार प्रदेश महासंघको स्थापनापछि उनीहरुले गरेका आर्थिक, सामाजिक गतिविधिबारे जानकारी राख्न भ्रमणको आयोजना भएको हो ।