विराटचोकः होली पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशवासीका नाममा शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तो छ प्रधानमन्त्रीले देशवासीको नाममा दिनुभएको शुभकामना सन्देशः
शुभकामना
पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित छ । नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ ।
अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन् ।
असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्दछ । तसर्थ, होली पर्व सम्पूर्ण नेपालीहरूका साझा पर्वका रूपमा स्थापित भएको छ ।
अन्त्यमा, होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ फेरि एकपटक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
मिति : ११ चैत्र २०८०
नेपाल संवत् ११४४ चिल्ला थ्व, चतुर्दशी
पुष्पकमल दाहाल ‘प्रचण्ड’