बलियाः मोरङको सुन्दरहरैंचामा विश्वकै अग्लो दाबी गरिएको गाईको प्रतिमा अनावरण गरिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज प्रतिमा अनावरण गर्नुभएको हो ।
प्रतिमा अनावरणपछि बोल्दै थपलियाले सुन्दरहरैंचामा धार्मिक पर्यटन प्रवद्र्धनमा गाईको प्रतिमाले सहयोग पुग्ने भन्दै आफूले सदैव सुन्दरहरैंचाको विकासमा काम गरिरहने बताउनुभयो ।
कार्यक्रमलाई सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ र पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा गाईको प्रतिमाको बारेमा स्थानीय संस्थागत विद्यालयका विद्यार्थीले अङ्ग्रेजी भाषामा जानकारी दिएका थिए ।
विश्वकै अग्लो गाईको प्रतिमाको बारेमा विश्वभर जानकारी दिन अङ्ग्रेजी भाषाबाट सजिलो हुने भन्दै अङ्ग्रेजी भाषामा मन्तव्य राखिएको नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्रीले बताउनुभयो ।
सो प्रतिमा ४३ फिट अग्लो रहेको बताइएको छ ।