विराटचोकः गत माघमा नेकपा माओवादी केन्द्र त्याग गरेका नेता तथा कार्यकर्तामध्ये ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस वडा नम्बर ७ कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा ७ का वडा कमिटी अध्यक्ष मिलन लुइँटेल, उपाध्यक्ष मातृका चौलागाईँसहित ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालगायतले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
सो दिन पार्टी परित्याग गर्ने सबै नेपाली कांग्रेसमा प्रवेश गर्ने योजना भए पनि अन्य कार्यकर्तालाई नेकपा माओवादीका नेताहरुले प्रलोभन तथा धम्की दिएर रोकेको लुइँटेलले बताउनुभयो । बिस्तारै बाँकी सदस्य पनि कांग्रेसमा प्रवेश गर्ने उहाँको भनाइ थियो ।
पर्टी प्रवेश गर्नेहरुलाई कामको मूल्याङ्कन गरेर जिम्मेवारी दिइने बताइएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाको प्रमुख आतिथ्यता तथा वडा नम्बर ७ कमिटी सभापति बलभद्र बिष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, कोशी प्रदेशका सदस्य शिवप्रसाद ढकाल, मोरङ जिल्ला सचिव ललित श्रेष्ठ, महासमिति सदस्य लोकप्रसाद सङ्ग्रौला, क्षेत्रीय सभापति देवराज तामाङलगायतको उपस्थिति थियो ।