विराटचोकः इन्द्रपुर जेसीजको आयोजनामा सुकुना बहुमुखी क्याम्पसमा साइबर सुरक्षा सचेतनासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । सो क्याम्पसमा बीबीए पहिलो वर्षका विद्यार्थीमाझ कार्यक्रम भएको हो ।
प्रशिक्षक एवम् सञ्चारकर्मी सुरेश दाहालले सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयहरूका बारेमा जानकारी दिनुका साथै फेसबुकमा धेरै समस्या आउने गरेको भन्दै त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिनुभएको थियो ।
फेसबुक चलाउँदा धेरै कुरामा ध्यान नदिँदा ह्याक हुने र त्यसबाट बच्न विभिन्न सेटिङलाई मिलाउन आवश्यक रहेको बताउनुभयो । यसैगरी इमेल, इन्टरनेटको प्रयोग गर्दा अपनाउनुपर्ने कुराहरूका बारेमा विद्यार्थीलाई उहाँले जानकारी दिनुभयो ।
इन्द्रपुर जेसीजका अध्यक्ष उत्सव थापाले सामाजिक सञ्जालबाट हुने गरेको साइबर अपराधबाट बच्न विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले कार्यक्रम सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि धेरै उपयोगी हुने बताउनुभयो । कार्यक्रम संयोजक अजित बान्तवाले पछिल्लो समय सामाजिक सन्जालका कारण धेरै घटनाहरू हुने गरेकाले यसबाट बच्न सहयोग पुग्ने हेतुले कार्यक्रम राखिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन इन्द्रपुर जेसीजका महासचिव आकाश दुलालले गर्नुभएको थियो ।
कार्र्यक्रममा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा इन्द्रपुर जुनियर जेसीजका अध्यक्ष मदन भण्डारी, नगर बाल सञ्जाल सुन्दरहरैंचाका अध्यक्ष आशिष सुन्दासलगायतको उपस्थिति थियो ।