दुलारीः पूर्वाञ्चल पब्लिक स्कुल सुन्दरहरैंचाको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सञ्चारकर्मी, समाजसेवी र गायक दम्पत्ति सम्मानित भएका छन् । राससकर्मी मणिराम दाहाल, समाजसेवी भगवान मोक्तान र लोक गायक बालकृष्ण सिग्देल जीवनसाथीसहित सम्मानित हुनुभएको हो ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा नगरका पूर्व मेयर शिवप्रसाद ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
वार्षिकोत्सवमा दाहालसँगै श्रीमती मञ्जु तिम्सिना पनि सम्मानित हुनुभएको हो । समाजसेवी भगवान मोक्तान र श्रीमती खिनामाया मोक्तान तथा लोकगायक बालकृष्ण सिग्देल र सरस्वती सिग्देललाई सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्व विद्यार्थी, अभिभावक तथा विविध विधामा उत्कृष्ट हुने विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
विद्यालय सञ्चालक समिति अध्यक्ष मोहनप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोष राईले विद्यालयको प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो ।