विराटचोकः आज हिन्दू धर्मावलम्बी महाशिवरात्री पर्व भगवान् शिवको आराधना गरी मनाउँदैछन् । शिवरात्री पर्व हरेक कृष्ण पक्षको चतुर्दशीमा पर्ने भए पनि फागुन कृष्ण पक्षको चतुर्दशीको दिनलाई भने महाशिवरात्री भनिन्छ ।
आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी शिवरात्री पर्व मनाइँदैछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा वर्णन गरिएको छ ।
शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट पर्वको नामकरण भएको विश्वास गरिन्छ ।
निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।