काठमाडौंः नेपाल बिमा प्राधिकरणले राष्ट्रिय बीमा नीति २०८० सार्वजनिक गरेको छ । बीमा नीतिमा बीमाको पहुँच विस्तार, बीमामा अनुदान, बीमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोगलगायतका विषय समेटिएका छन् ।
प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो नीति मागर्दशक रहने जनाएको छ । नीति कार्यान्वयन प्रारम्भ भएको ५ वर्षभित्र यसको सम्रग मूल्याङ्कन गर्ने कुरा उक्त नीतिमा उल्लेख छ । प्राधिकरणले मूल्याङ्कनबाट प्राप्त नतिजा, नीति कार्यान्वयनको सन्दर्भमा प्राप्त अनुभव र नीतिको सान्दर्भिकता, उपयुक्तता र सम्रग प्रभावकारिताको आधारमा नीतिमा समसामयिक सुधार तथा पुनरावलोकन गर्ने जनाएको छ । हाल नेपालमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, २ वटा पुनर्बीमा र ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् ।
स्वामित्व संरचनाका आधारमा मुलुकमा सरकारी, निजी, विदेशी शाखा संयुक्त लगानी गरी ४ प्रकारका बीमा कम्पनी सञ्चालनमा छन् । वैदेशिक लगानीमा ५ वटा कम्पनी सञ्चालित छन् ।