Monday, December 23, 2024
Homeकृषिचिया किसानहरूको समस्या समाधानका लागि पहल गर्ने सहकारी सचिव दुवाडी र रजिष्ट्रार...

चिया किसानहरूको समस्या समाधानका लागि पहल गर्ने सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरेको प्रतिबद्धता

इलामः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले चिया किसानहरूले अहिले भोग्दै आएका समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलामका साना किसान कृषि सहकारी संस्थाका सदस्यहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सचिव दुवाडीले सहकारीमा आबद्ध साना किसानहरूले भोगिरहेको समस्याका बारेमा आफूलाई जानकारी भएको भन्दै समस्या समाधानका लागि अधिकतम पहल गर्नेमा विश्वस्त हुन आग्रह गरे । चियाको बजारीकरणमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

रजिष्ट्रार घिमिरेले ग्रामीण क्षेत्रको आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेलिरहेका सहकारी संस्था र सदस्यहरूको जीवनस्तर माथि उठाउन विभागबाट हुने सहयोगमा कुनै कमी नहुने उल्लेख गरे । सहकारी र सदस्यहरूको अहिलेको आवश्यकता के हो भन्ने कुरा प्रष्ट भएको भन्दै उनले सोही अनुसार विभागले आफ्नो गति अगाडि बढाउनेमा विश्वस्त हुन आग्रह गरे ।

छलफल कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले सचिव र रजिष्ट्रार आफैँ उपस्थित भएर किसानहरूको काम, सफलता, सम्भावना र समस्याका बारेमा बुुझेपछि नीतिगत सुधारका लागि सहज हुने विश्वास व्यक्त गरे ।

नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराईले सरकारले विशेष सम्भावनाका क्षेत्रहरू पहिचान गरेर ब्लक, विशेष क्षेत्र तोके पनि किसानले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि समस्या रहेको औँल्याए ।

छलफलका क्रममा समालबुुङ साना किसान कृषि सहकारी संस्थाकी प्रबन्धक शान्ता खड्काले सहजीकरण गर्दै इलाममा चिया उत्पादन गरिरहेका किसानहरूले तेस्रो मुलुकमा चियापत्ती तथा ग्रीन टीको निर्यात, बजारीकरणको समस्या लगायतका विषयमा जानकारी गराएकी थिइन् ।

मन्त्रालयका प्रतिनिधिसहितको टोलीले पाथीभरा चिया प्रशोधन उद्योग, समालबुुङ चिया उद्योग, सिवानी गाई फार्म र डेरी उद्योग, सिद्धि भ्याली टि स्टेट, श्रीअन्तु चिया उद्योगका साथै साना किसान कृषि सहकारी संस्था श्रीअन्तुका किसानहरूले सञ्चालन गरेका कृषि फर्मको अवलोकन गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments