विराटचोकः अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरिसकेको हुनाले माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि चैत ७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत् र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिने जनाइएको छ ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्न खर्च गर्ने जनाएको छ ।