विराटनगरः केही दिनअघि साजीलाल माविको वार्षिकोत्सवमा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारलाई हिँडेर काम गर्ने छुट नभएको बताए । जनतालाई छिटो प्रतिफल दिनुपर्ने हुनाले उडेर काम गर्नुपर्ने अवस्था रहेको उनले बताएका थिए । थोरै मन्त्री भएका कारण कामको चाप हुँदा खाना खानसमेत फुर्सद नभएको उनले बताएका थिए ।
https://www.facebook.com/reel/360103976836684
मुख्यमन्त्री कार्कीले शुक्रबार सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री नियुक्तिको चार महिनापछि दोस्रो पटक सरकार विस्तार गरी १० सदस्यीय मन्त्रिपरिषद् बनाइएको हो ।
शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थपिँदा नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बनेका छन् । सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बनेका छन् । कार्कीले सामाजिक विकास र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राज्यमन्त्रीतर्फ नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त भएका छन् ।