विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले आयोजना गरेको प्याब्सन स्पोर्टस् मिट अन्तर्गत पहिलो दिनको खेलमा शुक्रबार सुन्दरहरैचाको पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ ।
सो विद्यालयले २ स्वर्णका साथ १० अंक ल्याएर अग्रता लिएको हो । सुन्दरहरैँचामै रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले एक स्वर्ण र एक रजत पदकसहित ८ अंक ल्याएर पछ्याएको छ । विराटनगरको एभरेष्ट स्कुलले एक स्वर्ण र एक कास्य पदकसहित ७ अंक ल्याएको छ ।
शुक्रबार भएका खेलअन्तर्गत लङजम्प छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना बिकले स्वर्ण पदक जित्दा सिद्धार्थ सेकेण्डरीकी मोनिका मास्केले रजत र मदर टेरेसा स्कुल विराटनगरकी पूजा यादव कस्य पदक पाइन् ।
यसैगरी, लङजम छात्रतर्फ सिद्धार्थ स्कुलका सुबोध चौधरीले स्वर्ण पदक जितेका छन् । विराटनगरको मदर टेरेसा स्कुलका सुरज साहले रजत र एभरेष्ट स्कुलका अर्पण कार्कीले कास्य पदक जितेका छन् ।
ज्याब्लिङ थ्रो छात्रातर्फ पूर्वाञ्चल एकाडेमी स्कुलकी शीतल मगरले स्वर्ण पदक जितिन् । मुनाल आर्दश स्कुल रतुवामाईकी छात्रा अमिसा ताजपुरियाले रजत र हरैँचा मोडलकी जयश्री माझीले कास्य पदक जितेकी छिन् ।
सटपुट छात्रतर्फ विराटनगरको एभरेष्ट स्कुलका सुशान्त श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उर्लाबारीको सुनगाभा स्कुलका सुदीप श्रेष्ठले रजत पदक र जनक मेमोरियल स्कुलका जनक तामाङले कास्य पदक हात पारेका छन् ।
प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।