Thursday, October 8, 2026
Homeफिचरभारतीय सहयोगमा बनेको पञ्चायत मावि गोठगाउँको नवनिर्मित भवनको उद्घाटन

भारतीय सहयोगमा बनेको पञ्चायत मावि गोठगाउँको नवनिर्मित भवनको उद्घाटन

गोठगाउँः नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र सुन्दरहरैँचा नगरपालिकाको २० प्रतिशत साझेदारीमा मोरङको सुन्दरहरैँचा–७, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित दुई तले भवनको मंगलबार उद्घाटन गरिएको छ ।

१६ कोठे भवनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा गर्नुभएको हो ।

भवन निर्माणका लागि ३ करोड २८ लाख रुपैयाँ खर्च भएको सुन्दरहरैंचाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिनुभयो । निर्धारित समयसीमाअघि नै सम्झौताअनुसार गुणस्तरीय रूपमा भवन निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएको भवनमा १३ महिनासम्म कुनै समस्या देखिएमा निर्माण व्यवसायीले मर्मत गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणसँगै विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र सहज पठनपाठनको वातावरण तयार भएको विद्यालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षा र सक्षम नागरिक उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले हिमाली तथा पहाडी क्षेत्रमा ३० वटा विद्यालय ३० करोड रुपैयाँ लगानीमा निर्माण गर्ने बताउनुभयो । हिमाली क्षेत्रमा छात्रावाससहितको विद्यालय निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिका विधि र प्रक्रियाअनुसार अघि बढिरहेको बताउनुभयो ।

यसअघि पनि एचआइसीडीपीमार्फत् पञ्चायत माध्यमिक विद्यालयलाई एउटा बस सहयोग गरिएको भारतीय दूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंहले बताउनुभयो । उहाँले नेपाली भाषामा लिखित भाषण पढ्नुभएको थियो ।
सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य राखनुभएको कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, सुन्दरहरैंचाका विभिन्न वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सम्झौता मितिभन्दा १ महिना अघि नै भवन निर्माण सम्पन्न गरिसकेको भन्दै निर्माण व्यवसायीलाई सम्मान पनि गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments