विराटचोकः मोरङको सुन्दरहरैँचा १० मा रहेको पुष्पज्योति बचत तथा ऋण सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८२\०८३ को प्रगति विवरण, लेखा समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३\०८४ को कार्ययोजना प्रस्तुत गरिएको थियो ।
२०६१ सालमा ३१ जना सदस्यबाट शुरु भएको संस्थामा हाल ७ सय शेयर सदस्यको शेयर पूँजी १ करोड ५ लाख ४९ हजार ५०० रुपैयाँ रहेको छ ।
निक्षेप ७ करोड ४० लाख ९९ हजार ५२७ रुपैयाँ रहेको छ । संस्थाका अध्यक्षको प्रतिवेदन सहसचिव त्रिलोचन सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य विश्वराज भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष चुडामणि घिमिरेले खराब ऋण असुलीका लागि नियमित पत्राचार तथा स्मरण गराउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।
साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्तातर्फ शेयर सदस्य ज्ञानबहादुर बुढाथोकी र उत्कृष्ट बाल बचततर्फ प्रवेश काफ्लेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, शेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउनेतर्फ रमेशकुमार न्यौपानेका छोरा रोशन न्यौपाने र गंगाप्रसाद आचार्यकी छोरी सुगरिका आचार्यलाई सम्मान गरिएको थियो ।
ज्येष्ठ सदस्यतर्फ गंगाप्रसाद बास्तोला र चन्द्रमाया पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख टोमनाथ उप्रेतीले सहकारीमा सुशासन कायम गर्दै सदस्यको हितमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
साधारणसभाले संस्थाका विभिन्न कार्यविधिसमेत पारित गरेको छ । पारित कार्यविधिमा आन्तरिक लेखा परीक्षणसम्बन्धी कार्यविधि, सदस्य सहकारी शिक्षा कार्यविधि, नगद परिचालन कार्यविधि, धितो मूल्यांकन कार्यविधि, गोष्ठी सञ्चालन कार्यविधि, शेयर कार्यविधि, बचत परिचालन कार्यविधि, आर्थिक प्रशासन कार्यविधि, साधारणसभा सञ्चालन कार्यविधि, उपसमिति गठन तथा सञ्चालन कार्यविधि, पुरस्कार तथा सम्मान कार्यविधि, सहकारी अवलोकन भ्रमण कार्यविधि र सदस्य राहत कोष कार्यविधि रहेका छन् ।





