काठमाडौंः सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न अध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभएको छ ।
नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।





