लेटाङः लेटाङ –५ को भाग्योदय गाउँले साकोसको तेस्रो स्थापना दिवस बिहीबार सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा वडा नं ५ का आधारभूत तहका विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता तथा संस्थाका महिला सदस्यबीच कुर्सी घुमाइ खेल र सम्मान कार्यक्रम भएका छन् ।
हाजिरीजवाफ प्रतियोगितामा शिक्षा विकास मावि पहिलो, सनराइज इङ्लिस स्कुल दोस्रो र लेटाङ आवासीय माविले तेस्रो स्थान हात पारे ।
कुर्सी घुमाइमा सिजल सूर्य मगर पहिलो, गोमा आचार्य दोस्रो र हिमा तिम्सिना तेस्रो भए ।
कार्यक्रममा सो सहकारीका उत्कृष्ट बालबचतकर्ताहरू र सो सहकारीको उपसमिति सदस्य रामप्रसाद बराल लेटाङ क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त हुनुभएकोमा सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष नानुदेवी सुवेदीको अध्यक्षता तथा वडा नं ५ का वडाध्यक्ष भूमबहादुर सूर्य मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कार्यपालिका सदस्य तथा संस्थाकी निवर्तमान अध्यक्ष शोभा खड्काको विशिस्ट आतिथ्यता रहेको थियो । वडा सदस्यहरू रामबहादुर पौडेल, सुकमाया लिम्बू, पुष्पा बिकलगायत अतिथि रहेको कार्यक्रम संस्थाका सचिव टंक बरालले सञ्चालन गरेका थिए ।