इटहरीः रसुवामा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले इटहरी सुनसरी लियो क्लबले सञ्चालन गरेको अभियानबाट ३८ हजार ३ सय ५२ रुपैयाँ सङ्कलन भएको छ ।
क्लबले सञ्चालन गरेको लस्सी वितरण तथा सहयोग सङ्कलन कार्यक्रममार्फत् सो रकम जुटाइएको हो । सङ्कलित सम्पूर्ण रकम कुनै पनि सञ्चालन खर्च कटौती नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
कार्यक्रम सञ्चालनका क्रममा लागेको सम्पूर्ण खर्च भने क्लबका अध्यक्ष तथा पूर्व अध्यक्षहरूले व्यक्तिगत रूपमा बेहोरेको जनाइएको छ ।
क्लबका अध्यक्ष लियो रिवाश बास्तोलाका अनुसार विपद्को समयमा सानो सहयोगले पनि प्रभावित परिवारमा ठूलो आशा जगाउन सक्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।
क्लबले अभियानमा सहयोग गर्ने तथा सहभागिता जनाउने सहयोगदाता र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।





