सोलुखुम्बुः विश्वमै थुलुङ दूधकोशी गाउँपालिकाको कफी उत्कृष्ट मानिन्छ । सोलुखुम्बुको सो गाउँपालिकामा उत्पादित कफीको न्यूनतम समर्थन मूल्य गाउँपालिकाले निर्धारण गरेको छ ।
आफ्नै गाउँपालिकामा कफी प्रशोधन गरी विश्व बजारमा पु¥याउने नीति लिएको गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी उत्पादक किसान तथा अन्य सरोकारवालासँगको अन्तरक्रिया पश्चात् वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी ‘ए’ ग्रेडको पार्चमेन्ट कफीको न्यूनतम समर्थन मूल्य प्रति केजी ६ सय निर्धारण गरिएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषि वन स्रोत केन्द्रले कृषकको कफी प्रति केजी ५ सय रुपैयाँले सङ्कलन गर्दै आएको थियो ।
थुलुङ दूधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको एक अध्ययनले देखाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अस्ट्रेलिया लगायतको राष्ट्रमा नमुना परीक्षणको लागि पटाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए ।
गाउँपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कार दिने र जिल्लामा मात्रै नभई छिमेकी जिल्लामा समेत उत्पादन भएको कफीलाई थुलुङ दूधकोशी गाउँपालिकामा सङ्कलन गरेर प्रशोधन गरी विश्व बजारमा पुर्याउने गाउँपालिकाले जनाएको छ ।