Wednesday, September 2, 2026
Homeसमाचारलेटाङ नगर अस्पतालको नयाँ भवनको भयो उद्घाटन

लेटाङ नगर अस्पतालको नयाँ भवनको भयो उद्घाटन

लेटाङः मोरङको लेटाङ नगरपालिकाले नगर अस्पतालको नयाँ भवन उद्घाटन गरी सेवा सञ्चालनमा ल्याएको छ । लेटाङ–३, बिरनमा सञ्चालन हुँदै आएको नगर अस्पताललाई लेटाङ–५ खेरुवास्थित नवनिर्मित सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी नयाँ भवनबाट सेवा शुरु गरिएको हो ।

नगर प्रमुख भुपेन्द्रकुमार लावतीले सोमबार आयोजित एक कार्यक्रमबीच शिलालेख अनावरण गरेर तथा नगर उपप्रमुख कृष्णकुमारी निरौला र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रवेशद्वारमा राखिएको रिबन काटेर अस्पताल भवनको उद्घाटन गर्नुभएको हो । संघीय सरकार र लेटाङ नगरपालिकाको लागत साझेदारीमा २०७९ पुसमा निर्माण शुरु गरिएको १० शैय्याको आधारभूत अस्पताल भवन २०८२ फागुनमा निर्माण सम्पन्न भएको थियो ।

२०७९ पुसमा १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिएको भए पनि विभिन्न समस्या, अवरोध तथा थप संरचना निर्माणका कारण ढिलो गरी निर्माण सम्पन्न गरिएको नगरपालिकाका इन्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।

तत्कालीन सरकारले २०७६ माघ २६ गते अस्पताल निर्माणका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ बजेट स्वीकृत गरेको थियो । लागत अनुमानअनुसार उक्त बजेट अपुग हुने देखिएपछि नगरपालिकाले २०७८ वैशाख १५ गते थप १ करोड ५२ लाख ४९ हजार २०९ रुपैयाँ थप गरेको थियो ।

प्रेरा एचएम कन्स्ट्रक्सन जेभीले स्वीकृत लागत अनुमानभन्दा ९ दशमलव ५१ प्रतिशत कम अर्थात् ९ करोड ९९ लाख ३६ हजार ९ सय ३२ रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौतापछि तत्कालीन संघीय सांसद घनश्याम खतिवडा र तत्कालीन नगर प्रमुख शंकर राईले २०७८ पुसमा संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको थियो ।

ठेक्का सम्झौतामा समावेश संरचनाबाहेक थप संरचना निर्माण गर्नुपर्ने तथा मूल्य समायोजनलगायतका कारण अस्पतालको अन्तिम भुक्तानी लागत १२ करोड ९० लाख ९१ हजार ६ सय ९६ रुपैयाँ पुगेको इन्जिनियर राईले बताउनुभयो । उहाँका अनुसार यसमध्ये संघीय सरकारबाट ९ करोड ४७ लाख १९ हजार २४९ रुपैयाँ प्राप्त भएको छ भने बाँकी ३ करोड ४३ लाख ७२ हजार ४४७ रुपैयाँ नगरपालिकाको आन्तरिक स्रोतबाट भुक्तानी गरिएको छ ।

कोरोना महामारी, ऐलानी जग्गामा भौतिक संरचना निर्माण गरिएको भन्दै परेको मुद्दा तथा विद्युतीय संरचना र फायर फाइटिङ प्रणालीलगायत थप काम गर्नुपर्ने भएकाले निर्माण अवधि लम्बिएको नगरपालिकाले जनाएको छ ।

भवनमा इमर्जेन्सी, ओपीडी तथा शल्यक्रिया कक्ष निर्माण गरिएको छ । १३ जना क्षमताको लिफ्ट, अपांगमैत्री भर्याङ, फायर फाइटिङ प्रणाली तथा २५० केभीएको जेनेरेटर जडान गरिएको छ । विद्युतको भोल्टेज समस्या समाधान गर्न नगरपालिकाले ९ लाख ९७ हजार रुपैयाँ लागतमा स्टेबलाइजरसमेत जडान गरेको छ ।

अस्पताल परिसरको कम्पाउण्ड वाल कोशी प्रदेशको शहरी विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको हो । उद्धार केन्द्र निर्माण योजनाअन्तर्गत अस्पताल परिसरमा कम्पाउण्ड वाल तथा इन्टरलक पेभिङसमेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगर अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकसहित ३५ जना जनशक्तिले विभिन्न ४० प्रकारका सेवा प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments