विराटचोकः आज विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी संसारभर मनाइँदैछ ।
सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेबु्रअरी २ मा रामसार महासन्धि भएको थियो । सो महासन्धि भएको दिनलाई सिमसार दिवसको रुपमा मनाउन थालिएको हो । सन् १९८७ मा यस महासन्धिको सदस्य भएको नेपालले सन् १९९१ देखि यो दिवस मनाउन थालेको हो ।
सिमसार भन्नाले धाप वा दलदल, घोल, तालतलैया, पोखरी, दहकुण्ड, नदीनाला, बाढी क्षेत्र जलाशय सिञ्चित धानखेत, जलक्षेत्रका घाँसे मैदान वा जङ्गललाई बुझाउँछ । विश्वको पर्यावरण सन्तुलनमा सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ ओटा तलैया रहेको बताइएको छ ।