विराटनगरः बाल्यकालमै गाउँघरमा देखेको छोरा र छोरीबीचको विभेदले मन दुखाएपछि माओवादी आन्दोलनमा होमिनुभएकी गीता तिम्सिना ‘अनु’को जीवनी सङ्घर्ष, उतारचढाव र निरन्तरको परिश्रमले अघि बढाइरहेको छ ।
वि. सं. २०५६ सालमा माओवादी आन्दोलनको भातृ संगठनबाट राजनीतिक जीवन शुरु गरेकी तिम्सिना अहिले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।
माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध भएर त्यसपछि अनेम संघ क्रान्तिकारी हुँदै राजनीतिक आन्दोलनतर्फ तानिनुको मुख्य कारण छोरालाई निजी स्कुलमा पढाउने र छोरीलाई सरकारी स्कुलमा पढाउने परिपाटीको विरुद्धमा रहेको उहाँ बताउनुहुन्छ ।
२०५८ सालदेखि भूमिगत गतिविधिमा सक्रिय हुनुभएकी उहाँ अनेम संघ क्रान्तिकारीको जिल्ला सदस्य, जिल्ला अध्यक्ष हुँदै कोचिला राज्य समितिको संयोजक, केन्द्रीय सदस्य र केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा पुग्नुभयो । हालै मात्रै उहाँ कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुभएको हो ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा पराजित उहाँ पाँच वर्षपछि भएको निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बन्नुभयो ।





