विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा रहेको सुवर्ण फर्मास्युटिकल सेन्टरलाई सञ्चालनमा ल्याउन प्रतिनिधिसभा सदस्य प्रेमलाल चौधरीले पहल थाल्नुभएको छ ।
प्रयोगविहीन अवस्थामा रहेको सेन्टरको वास्तविक अवस्था बुझ्न सांसद चौधरीले हालै स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि सेन्टर सञ्चालनका लागि आवश्यक पहल अघि बढाउँदै उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी उपकुलपति स्मृति कार्कीसँग भेटघाट गर्नुभएको छ ।
भेटका क्रममा सांसद चौधरीले राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई अब जसरी पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
औषधि उत्पादन तथा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले सुवर्ण फर्मास्युटिकल सेन्टर २०५८ सालमा भारत सरकारको प्राविधिक सहयोग तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको हो ।
यसरी निर्माण गरिएको संरचना लामो समयदेखि सञ्चालनमा आउन नसक्दा राज्यको लगानी खेर जाने अवस्था सिर्जना भएको छ । सांसद चौधरीले सेन्टरको भौतिक अवस्था, आवश्यक पूर्वाधार, सञ्चालनका लागि आवश्यक लगानी तथा व्यवस्थापकीय पक्षबारे समेत सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ ।
उहाँले सेन्टरलाई कुन मोडलबाट सञ्चालन गर्दा प्रभावकारी, पारदर्शी र दिगो हुन्छ भन्ने विषयमा गहिरो अध्ययन गरिने बताउनुभएको छ ।





