विराटचोकः साउन महिनाको प्रारम्भदेखि नै सुन्दरहरैंचा सञ्चारमाध्यममा व्यापक रूपमा छायो । सुन्दरहरैंचाको मात्रै नभएर देशकै चर्चित सुकुना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीले विद्यार्थीमाथि बारम्बार यौनजन्य दुर्व्यवहार गर्ने गरेको भनी शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई पठाएका सन्देशको स्क्रिनसटसहित एसकेएन मीम नामक फेसबुक पेजले सार्वजनिक गरेपछि देशभरका सञ्चारमाध्यममा सुकुना माध्यमिक विद्यालयको नाम आएको थियो । विद्यार्थीले आरोप लगाएका ४ जना शिक्षक र कर्मचारी पक्राउ भएकामा हाल चारै जना अदालतको आदेशले धरौटीमा रिहा भएका छन् । सुन्दरहरैंचासँग सम्बन्धित यीलगायत यस्ता विषय आए साउन महिनामा सञ्चारमाध्यममा ।
१ गतेः स्थानीय स्काउट समिति सुन्दरहरैंचा र हिमालयन स्काउट ट्रुपको आयोजनामा साउन १ गतेदेखि ३ गतेसम्म हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा–१० मा हिमालय स्काउट क्याम्प २०८३ शुरु । क्याम्पमा सुन्दरहरैंचा र इटहरीका गरी ३ विद्यालयका ५० विद्यार्थी सहभागी । प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँद्वारा क्याम्पको उद्घाटन ।
२ गतेः नझरेका फूलहरुको आयोजनामा सिर्जना क्याफे सुन्दरहरैंचा–१० खोर्सानेमा भएको साहित्यिक कार्यक्रममा साहित्यकार विवश बलिभद्र कोइरालाद्वारा आफ्ना सिर्जना वाचन । ‘झरी र इन्द्रेणी’ नाम दिइएको सो कार्यक्रम साउनका हरेक शनिबार प्रस्तुत हुने आयोजकद्वारा जानकारी ।
३ गतेः स्थानीय स्काउट समिति सुन्दरहरैंचा र हिमालयन स्काउट ट्रुपको आयोजनामा साउन १ गतेदेखि हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा–१० मा शुरु भएको हिमालय स्काउट क्याम्प २०८३ समापन । क्याम्पमा सुन्दरहरैंचा र इटहरीका गरी ३ विद्यालयका ५० विद्यार्थी सहभागी ।
३ गतेः सुकुना माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले यौन आशयसँग सम्बन्धित म्यासेज पठाउने गरेको भनी ती म्यासेजसहितको स्क्रिन सट राखेर एस के एन मीम नामक फेसबुक पेजबाट सुकुना माविका शिक्षक र कर्मचारीमाथि यौन दुराचारको आरोप ।
४ गतेः सुकुना माविका शिक्षक र कर्मचारीमाथि आरोप लागेपछि उनीहरुलाई निलम्बन गरी तुरुन्तै छानबिन गर्न सुन्दरहरैंचा नगरपालिकाद्वारा विज्ञप्ति जारी ।
४ गतेः विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप लागेका सुकुना माविका शिक्षक र कर्मचारी गरी तीन जना पक्राउ ।
५ गतेः यौन दुर्व्यवहारको आरोप लागेका सुन्दरहरैंचाका थप १ शिक्षक पक्राउ ।
६ गतेः शिक्षक तथा कर्मचारीले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका ४ जना शिक्षक र कर्मचारी पक्राउ परेपछि अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्ने सुकुना माविले जनाएको ।
साउन ७ः विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको १२ वर्षअघिको घटना सार्वजनिक भएपछि आरोपित शिक्षकलाई सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैंचा–१० द्वारा निलम्बन ।
८ गतेः सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित घटनापछि स्थानीय राजनीतिक दलहरूले विद्यालयको गरिमा, विद्यार्थीको सुरक्षा र निष्पक्ष अनुसन्धानको पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर, जिल्ला र प्रदेशस्तरीय नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीर रूपमा लिएको जानकारी ।
९ गतेः झरी र इन्द्रेणीको दोस्रो शृङ्खलामा कवि सबि मेवाहाङद्वारा सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सृजना क्याफेमा आफ्ना एक दर्जन बढी रचना वाचन ।
११ गतेः नेपाली कथानक चलचित्र ‘हली’का कलाकार र निर्मातासहितको टिमद्वारा सुन्दरहरैंचाको विराटचोकमा रहेको जेसीज भवनमा प्रचारप्रसार कार्यक्रमको आयोजना ।
१२ गतेः नेपाली कथानक चलचित्र ‘हली’का कलाकार र निर्मातासहितको टिमद्वारा सुन्दरहरैंचाको सुकुना बहुमुखी क्याम्पसलगायतका विभिन्न शैक्षिक संस्थामा प्रचार ।
१५ गतेः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको शिवपाञ्चायन मन्दिरमा योग शिविर शुरु ।
१५ गतेः देशको विषम परिस्थितिका कारण सुन्दरहरैंचा रनको दोस्रो शृङ्खला स्थगित ।
१५ गतेः सामाजिक मिलन केन्द्र प्रतिष्ठान सुन्दरहरैंचा–७ गोठगाउँमा विविध कार्यक्रमका साथ खीर खाने पर्व मनाइयो । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न ।
१६ गतेः नझरेका फूलहरूको आयोजनामा भएको ‘झरी र इन्द्रेणी’ को तेस्रो शृङ्खलामा कवि गगन योक्पाङ्देनद्वारा सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सृजना क्याफेमा आफ्ना रचना वाचन ।
१६ गतेः सहयोगी मनहरुको भेटघाट, छलफल, अन्तरक्रिया तथा जलपान कार्यक्रम सम्पन्न ।
१७ गतेः सुकुना माविद्वारा विद्यालयका शिक्षकमाथि लागेको आरोपको विषयलाई लिएर एसकेएन कन्फेसन एण्ड मीम, सुकुना बाल चेतना समूह, कानुन विद्यार्थी समाज, युवा रेडक्रस सर्कल, नेपाल स्काउट तथा फ्यान क्लबका प्रतिनिधिहरूसँग अन्तरक्रिया ।
साउन १८ गतेः सुकुना माविद्वारा विद्यालयका शिक्षकमाथि लागेको आरोपको विषयलाई लिएर कक्षा १२ विज्ञान संकायका सबै सेक्सनका मनिटर, कक्षा प्रतिनिधि तथा कक्षा ११ र १२ विज्ञान विषय समूहका अभिभावकसँग छलफल ।
साउन १९ गतेः सुकुना माविद्वारा विद्यालयका शिक्षकमाथि लागेको आरोपको विषयलाई लिएर कक्षा १२ व्यवस्थापन, कानुन, शिक्षा र होटल म्यानेजमेन्टका मनिटर तथा कक्षा प्रतिनिधि र कक्षा ११ र १२ का उक्त विषय समूहका अभिभावकसँग अन्तरक्रिया ।
१९ गतेः नागरिक स्वावलम्बन विकास (सिड) नेपालले गत आर्थिक वर्षमा गरेका कार्यक्रमको सामाजिक परीक्षण सुकुना बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न ।
२३ गतेः ‘नझरेका फूलहरू’द्वारा साउन महिनाका शनिबार भइरहेको ‘झरी र इन्द्रेणी’ कार्यक्रमको चौथो शृङ्खलामा तीन जना गजलकारका गजल प्रस्तुत । गजलकार युवराज ठकुरी, सुनिता तामाङ र राज ‘यात्री’ लम्सालद्वारा सुन्दरहरैंचा–१० मा रहेको सृजना क्याफेमा गजल वाचन ।
२७ गतेः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैंचाले आयोजना गरेको रक्तदानमा ४० पिण्ट रगत सङ्कलन ।
२७ गतेः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पहिलो पाइला नेपाल सुन्दरहरैंचाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा साजीलाल माविकी छात्रा पहिलो ।
२७ गतेः मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक तथा कर्मचारी धरौटीमा छुटेका छन् ।
२९ गतेः कोशी प्रदेश मन्त्रीपरिषदको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ । हाल वडा नम्बर १२ मा रहेको पालिकाको केन्द्र वडा नम्बर ८ मा सार्न बैठकले स्वीकृति प्रदान गरेको हो ।
३० गतेः ‘नझरेका फूलहरू’ सञ्चालित झरी र इन्द्रेणीको अन्तिम शृङ्खलामा सर्जक जेबी थुलुङद्वारा आफ्ना रचना प्रस्तुत ।
त्यस्तै, शैक्षिक सामग्री वितरण गरी गछिया युवा समाजले मनाएको वार्षिकोत्सव,
चलचित्र ‘हली’ हेर्न सिनेमाघरमा विभिन्न विद्यालयले विद्यार्थी लगेको विषय
माउण्ट मकालु बोर्डिङ स्कुल सुन्दरहरैंचामा कक्षा १० मा अध्ययनरत
विद्यार्थीहरूको टोली ‘टिम क्रान्तिकारी’ले मानिसजस्तै हिँड्न, अभिवादन गर्न तथा विभिन्न भावनात्मक अभिव्यक्ति दिन सक्ने गरी बनाएको ह्युमानोइड रोबोट ‘सोलारिस नोभा’ को विषय,
इन्द्रपुर नमुनामा अभिभावकलाई दिइएको अभिमुखीकरण
हिमालय इङलिस स्कुलमा साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी भएको प्रशिक्षण कार्यक्रम,
सिद्धार्थ माविका विद्यार्थीले इलाममा गरेको हाइकिङ,
गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको आयोजनामा मृगौलियामा भएको निःशुल्क स्वास्थ्य शिविर आदि साउन महिनामा सुन्दरहरैंचाका चर्चित घटनाका रूपमा रहे ।





