इटहरीः भदौ ७ गतेदेखि सुनसरी जिल्लाका युवालाई उद्यमशीलतासम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्ने उद्देश्यले ‘जेनबिज सुनसरी युवा उद्यमशीलता बुटक्याम्प शृङ्खला’ सञ्चालन हुने भएको छ ।
ग्लोबल युथ मोबिलाइजेसन अन्तर्गतको युवा सशक्तीकरण कोषको साझेदारीमा लक्ष्यदीपको आयोजनामा युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रममा सुनसरीका १२ वटै स्थानीय तहका ६० जना युवा सहभागी हुने बताइएको छ ।
१२ कक्षा र स्नातक तह अध्ययन गर्दै गरेका विद्याथीका लागि १० सातासम्म प्रत्येक शनिबार इटहरीमा प्रत्यक्ष कक्षा सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रमको अभिमुखीकरण भदौ ६ गते हुने र पहिलो प्रशिक्षण कक्षा भदौ ७ गते हुने जनाइएको छ ।
कार्यक्रममा सहभागी युवालाई उद्यमशील सोचको विकास, समस्या तथा व्यावसायिक अवसरको पहिचान, व्यावसायिक विचारको परीक्षण, ग्राहकको आवश्यकता पहिचान, व्यवसायको प्रारूप निर्माण, बजार अध्ययन, ब्रान्ड निर्माण, बजार प्रवद्र्धन तथा बिक्री, वित्तीय योजना र बजेट निर्माण, व्यवसाय सञ्चालन तथा व्यवस्थापनलगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइने भएको छ ।
व्यवसाय विस्तारको रणनीति, अनुभवी व्यक्तिबाट परामर्श, सहकर्मीबाट सिकाइ तथा सम्बन्ध विस्तार र व्यावसायिक विचारलाई परिष्कृत गरी प्रस्तुतीकरण गर्ने विषयमा समेत प्रशिक्षण दिइने जनाइएको छ ।
कार्यक्रमको अन्त्यमा व्यावसायिक विचार प्रस्तुतीकरण प्रतियोगिता आयोजना गरिने भएको छ ।





