विराटनगरः जीवन विकास समाजले गोबरबाट प्राङ्गारिक मल र बायोग्यास उत्पादन शुरु गरेको छ । समाजले किसानसँग गोबर किनेर बायोग्यास उत्पादन गरी सिलिन्डरमा भरेर बिक्री गरेको छ भने प्राङ्गारिक मल पनि उत्पादन गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० बिघा क्षेत्रमा जीवन विकास समाजले स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगको मोरङ–५ का सांसद योगेन्द्र मण्डल र प्रदेश सांसद गयानन्द मण्डलले उद्घाटन गरे । १० करोड रुपैयाँ लागतमा स्थापित उद्योगले विराटनगर र आसपासका गाईंभैंसी फार्मबाट गोबर किन्ने गरेको छ ।
उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले कच्चा पदार्थ नभएका कारण दैनिक ३० सिलिण्डर ग्यास उत्पादन हुँदै आएको बताए । दैनिक ८ टन प्राङ्गारिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता भए पनि त्यसका लागि आवश्यक ४० टन गोबर पाउन नसकिएको उनले जनाए ।
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलले बायोग्यास प्रयोग गर्दा खर्च कम लागेको बताए ।