विराटनगरः आज बिहानैदेखि जिल्ला कारागार मोरङ तनावग्रस्त बन्यो । जिल्ला सुरक्षा समितिका अधिकारीहरू निरीक्षण तथा अनुगमनका लागि कारागार पुगेका बेला ‘बी ब्लक’का कैदीबन्दीले भित्रबाटै ताला लगाएपछि सुरक्षा अधिकारीहरू कारागारभित्र प्रवेश गर्न पाएनन् ।
कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु रहेको विशेष सूचना पाएपछि अनुगमनका लागि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका अधिकारीहरू बिहान साढे ४ बजे नै कारागार पुगेका थिए ।
ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी तथा कारागारको अवस्थाबारे निरीक्षण गर्ने तयारी गरिएको थियो । तर, सुरक्षा अधिकारी र सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न खोज्दा ‘बी ब्लक’का कैदीबन्दीले भित्रबाटै ताला लगाएर अवरोध गरे । उनीहरू छतमा पुगेर नाराबाजी र प्रदर्शनमा उत्रिएका थिए ।
मोरङ कारागारमा १ हजार २२८ कैदीबन्दी छन् । तीमध्ये दुई नाबालकसहित १११ जना महिला छन् । ‘ए ब्लक’मा ५५४ र ‘बी ब्लक’मा ५६३ कैदीबन्दी रहेका छन् ।





