इलामः इलामको रोङ गाउँपालिकाले पूँजी बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाएको ‘मोडल भिलेज’लाई सार्थक बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष विभिन्न माग प्रस्ताव गरेको छ ।
पालिकाले अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्याक्ति र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइपीओमा पाँच प्रतिशत शेयर आरक्षणको माग गर्दै पूँजी बजार शिक्षाको ‘मोडल भिलेज’ बनाउने प्रस्ताव अघि सारेको हो ।
धितोपत्र बोर्डसमक्ष लक्षित वर्गका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा पाँच प्रतिशत आरक्षणका शेयरको व्यवस्था गर्न माग गर्दै शुक्रबार सेबोन अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले ज्ञापनपत्र बुझाउनुभएको हो ।
स्थानीय तहमा विद्यार्थी तथा विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम सञ्चालन, बैङ्क खाता तथा डिम्याट खाता खोल्न सहजीकरण, वित्तीय तथा पूँजी बजार साक्षरता विस्तारका काम गर्ने पालिकाको लक्ष्य रहेको जनाइएको छ । अपाङ्गता भएका व्यक्तिलाई पनि पूँजी बजारमा जोड्ने उद्देश्यले बैङ्क तथा डिम्याट खाता खोल्न सहजीकरण गरिएको र वित्तीय रूपमा सक्षम बनाउने साथै भविष्यमा लगानी तथा आर्थिक आत्मनिर्भरताको आधार तयार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको पालिकाले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै सेबोन अध्यक्ष डा.भट्टले स्थानीय तहले नागरिकको आर्थिक अवस्था, आवश्यकता र व्यवहारलाई नजिकबाट बुझ्ने भएकाले पूँजी बजारसम्बन्धी नीति निर्माणमा स्थानीय तहको अनुभवलाई समेत समेट्नुपर्ने बताउनुभएको थियो ।





