लेटाङः हिरासतमा रहेका व्यक्तिहरूमा सकारात्मक सोच र व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले इलाका प्रहरी कार्यालय लेटाङमा सञ्चालित ‘हिरासत पुस्तकालय’ का लागि पूर्वसांसद घनश्याम खतिवडाले थप १७ थान पुस्तक प्रदान गर्नुभएको छ ।
मोरङको लेटाङ नगरपालिका वडा नं. २ निवासी पूर्वसांसद खतिवडाले विभिन्न विधाका १७ थान पुस्तकहरू इलाका प्रहरी कार्यालय, लेटाङलाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि उहाँले ४५ थान पुस्तक उपलब्ध गराउनुभएको थियो ।
हिरासतमा रहेका व्यक्तिहरूको खाली समयलाई फलदायी र रचनात्मक बनाउन प्रहरीले यो अभियान अघि बढाएको हो । पुस्तक अध्ययनमार्फत् थुनुवाहरूमा सकारात्मक सोचको विकास गरी आचरण तथा व्यवहारमा सुधार ल्याउने मुख्य लक्ष्य राखिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, लेटाङले यस अभियानलाई थप विस्तार र सुदृढ बनाउनका लागि उपयोगी, ज्ञानवद्र्धक तथा सकारात्मक सन्देश प्रवाह गर्ने पुस्तकहरू सहयोग गरी अभियानमा जोडिन सम्पूर्ण इच्छुक महानुभावहरूमा आह्वान समेत गरेको छ ।





