विराटचोकः आफ्नो बारीमा रहेको अम्बा टिप्न आएकी ४ वर्षीया बालिकालाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई पक्राउ गरेको छ ।
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९, डाइनिया मुस्लिम टोलमा साउन ८ गते सो घटना भएको थियो । स्थानीय जफारुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन घन्सी बारीमा मृत फेला परेकी थिइन् ।
घटनाको प्रारम्भिक अनुसन्धान र सूक्ष्म खोजतलासका क्रममा मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोहम्मदको बारीमा भुइँमा झरेका अम्बा टिप्न गएकी बालिका मोहम्मदले प्रहार गरेको इँटाले ढलेकी थिइन् । त्यसपछि मोहम्मदले काखमा बोकेर लगेर घन्सी बारीमा फालेको बताइएको छ ।
पक्राउ परेका मन्सुरीलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
घटनाको कारण र अन्य विस्तृत विवरणबारे थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।





