विराटचोकः आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्न महत्त्वपूर्ण छ ।
सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।
मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बँधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।
संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।
गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेको पाइन्छ ।
मानव बेचबिखनमा तुलनात्मक रूपमा पुरुषभन्दा बढी महिला पर्ने गरेका छन् ।





