विराटचोकः आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाइन्छ ।
अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुट्कारा पाउन मित्रतारूपी औषधिले शान्ति प्रदान गर्दछ । त्यसैले त संसारमा मित्र नभएको व्यक्ति हुँदैन । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने अवधारणा अघि सारेका थिए । शुभकामना कार्ड छाप्ने उनले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि भएको थियो ।
पछि वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । वल्र्ड फ्रेन्डशिप क्रुसेड एक विश्वव्यापी नागरिक संगठन हो र यसले मित्रताका माध्यमले संसारमा शान्तिको वकालत गर्ने गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डेलाई आधिकारिक मान्यता दिइएको हो ।





