Sunday, July 26, 2026
Homeशिक्षा र स्वास्थ्यनोबेलमै हुने भयो जलनको उपचार

नोबेलमै हुने भयो जलनको उपचार

विराटनगरः नोबेल मेडिकल कलेजले आगो, तातो पदार्थ वा विद्युतीय दुर्घटनाबाट गम्भीर घाइते भएका बिरामीको उपचार गर्ने भएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा प्रदेशकै पहिलो अत्याधुनिक ‘बर्न युनिट’ (जलन उपचार कक्ष)को कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा.डा. शंकरमान राईको पनि उपस्थिति रहेको थियो ।

अस्पतालले आगलागी तथा अन्य कारणले जलनमा परेका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्न तत्कालका लागि तीन शैय्याको अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याएको अस्पतालका व्यवस्थापक दीपेश राईले जानकारी दिनुभयो ।

प्रादेशिक तथा संघीय अस्पतालहरूमा बर्न सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिलाई आत्मसात गर्दै यो सेवा शुरु गरिएको हो । सेवालाई केही समयमै विस्तार गरेर थप प्रभावकारी बनाउने योजना रहेको अस्पतालले जनाएको छ ।

प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका प्रमुख तथा कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. अजय ढकालको नेतृत्वमा बर्न युनिट सञ्चालन हुने भएको छ । युनिटमा जलनका गम्भीर ट्रमा बिरामीको उपचार, जटिल स्किन ग्राफ्टिङ, घाउ व्यवस्थापन, संक्रमण नियन्त्रण तथा आवश्यक शल्यक्रिया सेवा २४ सैं घण्टा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
जलनका बिरामीका लागि सुरुवाती केही घण्टा (गोल्डेन आवर) अत्यन्तै महत्वपूर्ण हुने बताउँदै डा. अजय ढकालले २० प्रतिशतभन्दा बढी भाग जलेका बिरामीलाई संक्रमणबाट बचाउन र भविष्यमा हुने अपाङ्गता रोक्न विशेष बर्न युनिटमै उपचार आवश्यक पर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

अब आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट गम्भीर रूपमा जलेका बिरामीले उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments