लेटाङः शान्ति भगवती मावि लेटाङमा जीवन विज्ञानसम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जीवन विज्ञानका दर्शनदाता एलपी भानु शर्माबाट प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
जीवन विज्ञान लेटाङको आयोजनामा भएको प्रवचन कार्यक्रममा शर्माले जीवन विज्ञान के हो र यसले मानिसको जीवनमा कस्तो सुधार ल्याउँछ भन्ने विषयमा १ घण्टा लामो प्रवचन दिएका थिए । सो क्रममा जीवन विज्ञानमा सबै क्षेत्र, सबै धर्म, जात र समुदायका मानिसहरू जोडिन सक्ने भन्दै जीवन विज्ञानले मानिसका ७ वटा पक्षलाई स्वस्थ्य राख्ने ज्ञान सिकाउने उनको भनाइ थियो ।
जीवन विज्ञान लेटाङका अध्यक्ष ओमप्रकाश श्रेष्ठका अनुसार कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सुनसरीका प्रहरी प्रमुख विपीन रेग्मी, सशस्त्र प्रहरी बलका लकेस कुमार तुम्वाहाम्फे, प्रहरी उपरीक्षक तिलक शर्मा प्रसाईं, लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, जीवन विज्ञान कोशी प्रदेश संयोजक केदारमान कार्की, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीम ओली, व्यवसायी भोलेश्वर दुलाल, उमेश सुवेदी, नगेन्द्र दाहाल, लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, लेटाङका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, व्यापारीहरू, सामाजिक क्षेत्रका अगुवाहरू, जीवन विज्ञानका अभियन्ताहरू सर्वसाधारण कार्यक्रममा सहभागी भएका थिए ।
नगर प्रमुख लावतीले लेटाङमा जीवन विज्ञानको अभियान शुरु गरिएकोमा खुशी व्यक्ति गर्दै भौतिक सँगसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेकाले जीवन विज्ञान त्यसका लागि उपयुक्त माध्यम भएको बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी आचार्यले समाजमा सुख, शान्ति र सुव्यवस्था कायम राख्न मानसिक शान्ति आवश्यक रहेको बताए ।
वडाध्यक्ष श्रेष्ठले जीवन विज्ञानले सामाजिक समस्या न्यूनीकरणमा समेत भूमिका खेल्ने उल्लेख गरे ।