धरानः सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ गतेदेखि २३ गते सम्म दोस्रो पटक धरान एक्स्पो आयोजना गर्ने भएको छ । एक्स्पोमा १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्स्पो विशेष रूपमा धरानको स्थानीय उत्पादन, कृषि सामग्री बेसार, कालो बङ्गुर, तीनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो ।
धरान–१६ धरान रङ्गशाला परिसरमा हुने एक्स्पोमा सुनसरीका १२ स्थानका स्थानीय उत्पादनका बस्तु बिक्री वितरण, बजार विस्तार र उपभोक्तालाई चिनाइने र बिक्री गरिने बताइएको छ ।
१५० वटा स्टल रहने एक्स्पो करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको र स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्रीका लागि राखिने आयोजकले पत्रकार सम्मलेनमार्फत् जानकारी दिएको छ ।
एक्स्पो आयोजना गरेर आम्दानी गर्ने भन्दा धरानमा पनि अन्तर्राष्ट्रिय स्तरको एक्सपो आयोजना हुन्छ भन्ने सन्देश दिनु मुख्य उद्देश्य रहेको स्टल व्यवस्थापन संयोजक विष्णु बरालले बताए ।
एक्स्पोमा स्वरोजगार गोष्ठी, खानेपानी व्यवस्थापनसम्बन्धी विशेष परामर्श गोष्ठी तथा हरेक साँझ मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम हुने भएको छ ।
साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने एक्स्पोमा ५ बजेपछि टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य महासङ्घ, सङ्घीय सरकारका निकायहरू, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा धरान एक्स्पो आयोजना हुन लागेको हो ।