Wednesday, July 22, 2026
Homeसमाचारअनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया

अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया

इटहरीः भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीमा बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया भएको छ ।

‘बाल अधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका सम्बन्धी कार्यशालामा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष भरत थापाले बालबालिका कुनै पनि प्रकारको यौन दुर्व्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुनाले जिम्मेवार समाचार सम्प्रेषण र जनचेतनामूलक सामग्रीमार्फत् बालबालिकाको सुरक्षामा प्रभावकारी योगदान दिन सकिने उहाँले बताउनुभयो ।

भ्वाइस अफ चिल्ड्रेन केन्द्रका कार्यक्रम संयोजक तथा सहजकर्ता गोविन्द कोइरालाले विद्युतीय माध्यममार्फत् हुने बाल यौन दुर्व्यवहारका जोखिम र त्यसका दीर्घकालीन असरबारे प्रस्तुति दिँदै एकपटक विद्युतीय माध्यममा सार्वजनिक भएको सामग्री पटकपटक हेरिने, फैलिने र त्यसले पीडित बालबालिकामाथि गम्भीर मानसिक असर पार्ने बताउनुभयो ।

गत आर्थिक वर्षमा कोशी प्रदेशमा विद्युतीय माध्यमबाट हुने बाल यौन दुर्व्यवहारसम्बन्धी १०२ वटा घटना नेपाल प्रहरीमा दर्ता भएको उहाँले बताउनुभयो ।

सहजकर्ता नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्व सदस्य अमर खड्काले विद्युतीय सुरक्षा, विद्युतीय अपराधसम्बन्धी कानुन तथा डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे जानकारी दिँदै जिम्मेवार सञ्चार अभ्यास, कानुनी सचेतना र तथ्यमा आधारित समाचार सम्प्रेषणले बालबालिकालाई विद्युतीय अपराध तथा यौन दुर्व्यवहारबाट जोगाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत पूजा भण्डारी, परियोजना सहायक प्रकाश परियारलगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बाल अधिकार संरक्षण, विद्युतीय जोखिम न्यूनीकरण तथा बालमैत्री समाचार सम्प्रेषणमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments