Sunday, July 19, 2026
Homeशिक्षा र स्वास्थ्यशैक्षिक भ्रमणमा गएका उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा अनुभव आदानप्रदान

शैक्षिक भ्रमणमा गएका उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा अनुभव आदानप्रदान

उर्लाबारीः उर्लाबारी बहुमुखी क्याम्पसको वाणिज्य विभागको आयोजनामा वाणिज्य सङ्कायका विद्यार्थीहरूको शैक्षिक भ्रमण सम्पन्न भएको छ । भ्रमणपछि आयोजित समीक्षा कार्यक्रममा विद्यार्थीहरूले उद्योग, व्यवसाय र पर्यटन क्षेत्रबारे प्राप्त व्यावहारिक अनुभव आदानप्रदान गरेका छन् ।

भ्रमण टोलीले झापाका विभिन्न स्थानको अवलोकन गर्दै उद्योग, व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गरेको जनाएको छ ।

व्यावहारिक अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खेमराज कार्कीले यस्ता शैक्षिक भ्रमणले विद्यार्थीको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । भ्रमणबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्न र हरेक असल अभ्यासबाट सिक्न विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो ।

क्याम्पसले आगामी दिनमा उद्यमशीलतामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै सीप हासिल गरी व्यवहारमा लागू गर्न सके युरोप र अमेरिका जानुपर्ने बाध्यता कम गर्न सकिने उहाँको भनाइ थियो । विद्यार्थीलाई अनुशासित, नैतिकवान र प्रविधिमैत्री बन्न आग्रह गर्दै अध्ययनलाई भविष्य निर्माणको आधारका रूपमा गम्भीरतापूर्वक लिनुपर्ने उहाँले बताउनुभयो ।

भ्रमणमा सहभागी विद्यार्थीहरूले यस कार्यक्रमबाट अवलोकन तथा विश्लेषण गर्ने क्षमता, समूहमा काम गर्ने सीप, प्रभावकारी सञ्चार कला, व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक बुझाइ तथा आत्मविश्वास बढेको अनुभव सुनाएका थिए ।

विद्यार्थी नमूना पराजुलीले यस्ता शैक्षिक भ्रमणले कक्षाकोठामा सिकेका विषयलाई व्यवहारमा बुझ्न सहज भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन क्याम्पस प्रशासनसँग आग्रह गर्नुभएको थियो ।

भ्रमण टोलीले हनुमान बेकरी उद्योगमा बेकरी उत्पादनको निर्माण प्रक्रिया, गुणस्तर नियन्त्रण, सरसफाइ व्यवस्थापन, प्याकेजिङ तथा ब्रान्डिङ प्रविधि, वितरण प्रणाली र बजार व्यवस्थापन रणनीतिबारे प्रत्यक्ष जानकारी लिएको थियो । विद्यार्थीहरूले उद्योग सञ्चालनका विभिन्न पक्ष नजिकबाट अवलोकन गर्दै उद्यमशीलताको व्यावहारिक पक्ष बुझ्ने अवसर पाएको बताएका छन् ।

त्यसैगरी, दमक बिजनेस टावरको अवलोकनका क्रममा व्यावसायिक वातावरण, व्यापारिक गतिविधि, ग्राहक सेवा, व्यवसाय व्यवस्थापन तथा आधुनिक पूर्वाधारले व्यवसाय विकासमा खेल्ने भूमिकाबारे जानकारी प्राप्त भएको विद्यार्थीले बताए । दमक भ्यु टावरको भ्रमण गर्दै पर्यटन पूर्वाधारको विकास, पर्यटकीय सम्भावना र स्थानीय आर्थिक गतिविधिमा पर्यटनले पुर्याउने योगदानबारे समेत जानकारी पाएको उनीहरुको भनाइ थियो ।

भ्रमण टोलीले मेची हाउजिङको पनि अवलोकन गरेको थियो । ५५ वटा आधुनिक सुविधासम्पन्न घर रहेको उक्त हाउजिङ व्यवस्थित पूर्वाधार, आकर्षक भवन संरचना र योजनाबद्ध बस्ती विकासका कारण नमूना आवासीय क्षेत्रका रूपमा विकास भइरहेको जानकारी विद्यार्थीहरूले प्राप्त गरेका थिए ।

विभाग प्रमुख रत्न कार्कीको नेतृत्वमा सम्पन्न भ्रमणमा क्याम्पस प्रमुख खेमराज कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा प्राध्यापक राजु सापकोटा र प्रकाश पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments