Sunday, July 19, 2026
Homeकृषित्रिवेणी सामुदायिक वनद्वारा किसानलाई कृषि औजार सामग्री वितरण

त्रिवेणी सामुदायिक वनद्वारा किसानलाई कृषि औजार सामग्री वितरण

लेटाङः त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह लेटाङले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत लेटाङ नगरपालिकाको वडा नम्बर ५ र ६ का किसानलाई कृषि औजार तथा सिचाइ उपभोक्ता समितिलाई सिँचाइ अनुदान वितरण गरेको छ ।

मङ्गलबार आयोजित कार्यक्रममा विभिन्न टोल समिति तथा कृषकलाई कृषि औजार, मकै रोप्ने मेसिन र सिँचाइ जल उपभोक्ता संस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रमको उद्देश्य कृषि यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्दै श्रमको लागत घटाउने, समयमै खेतीपाती गर्न सहज बनाउने र उत्पादन वृद्धि गर्नु रहेको समूहले जनाएको छ ।

समूहका अध्यक्ष तीर्थबाबु गिनेल मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेटाङ–५ का वडा अध्यक्ष भूमबहादुर सूर्य मगर प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा उपाध्यक्ष फूलकुमारी राईले स्वागत मन्तव्य व्यक्त गर्दै कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

अध्यक्ष तीर्थबाबु गिनेल मगरले सामुदायिक वनले वन संरक्षणसँगै समुदायको आर्थिक तथा सामाजिक विकासमा पनि योगदान दिँदै आएको उल्लेख गर्दै किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्न कृषि औजार तथा सिँचाइ अनुदान वितरण गरिएको बताउनुभयो । आधुनिक उपकरणको प्रयोगले श्रम बचत, उत्पादन लागत घट्ने र कृषि उत्पादनमा वृद्धि हुने विश्वास वन उपभोक्ता समूहले गरेको उहाँले बताउनुभयो ।

मकै छोडाउने मेसिन (शेलर) को माग व्यापक रूपमा आएको जानकारी दिँदै यस वर्ष बजेट अभावका कारण वितरण गर्न नसकिएको र आगामी वर्ष आवश्यक बजेटको व्यवस्था गरी उक्त मेसिनसमेत वितरण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो ।

सिँचाइका लागि ५३ हजार रुपैयाँ अनुदान
खेतीयोग्य जमिनमा सहज सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले भुवा चिसाङ सिँचाइ जल उपभोक्ता संस्था, लेटाङ–६ लाई २८ हजार र चिसाङ जनविकास पैनी सिँचाइ जल उपभोक्ता संस्थालाई रु. २५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त रकम सम्बन्धित संस्थाका अध्यक्ष भवानीश्वर आचार्य र छत्रबहादुर निरौलामार्फत् हस्तान्तरण गरिएको हो ।

समूहका अनुसार यस सहयोगले सिँचाइ संरचनाको संरक्षण, मर्मत तथा विस्तारमा टेवा पुग्नुका साथै वर्षभरि पानीको पहुँच बढाएर कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, लेटाङ–५ का टोल विकास संस्था नं. १ देखि १२ सम्म तथा लेटाङ–६ का विभिन्न टोल समूहलाई रोपाइँसम्बन्धी कृषि मेसिन वितरण गरिएको छ ।

लेटाङ–६ का टोल नं. १० (क), १० (ख) र १० (ग) का लागि राधा धिमाल, टोल नं. ११ (क), ११ (ख), १७ (क) र १७ (ख) का लागि रवीन्द्र लावती, तथा टोल नं. १२ (क), १२ (ख), १२ (ग) र १२ (घ) का लागि बमबहादुर तामाङमार्फत् मेसिन हस्तान्तरण गरिएको थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष भूमबहादुर सूर्य मगरले कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउन आधुनिक प्रविधि र प्रभावकारी सिँचाइ व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक वनले वन संरक्षणसँगै कृषकको आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुभएको थियो ।

सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भवानीश्वर आचार्य लगायत वक्ताहरूले प्राप्त अनुदान र कृषि औजारको सदुपयोग गर्दै उत्पादन वृद्धि गर्न किसानलाई आग्रह गर्नुभएको थियो । उनीहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रको कृषि उत्पादन बढाउनुका साथै किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समूहका पूर्वअध्यक्ष उदय पौडेल, सल्लाहकारहरू सूर्यबहादुर गिनेल मगर, नन्दलाल धिमाल, कृष्ण लम्साल, नारायण खत्री, शान्ता राई, भक्तबहादुर थापा मगर, लेखा समिति संयोजक कृष्णप्रसाद भट्टराई, जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीय उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments