विराटचोकः बुक बिल्डिङ विधिमार्फत् साधारण शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको ‘कटअफ’ मूल्य तय भएको छ । संस्थागत लगानीकर्ताहरूबीच भएको बोलकबोलमार्फत् कम्पनीको प्रतिकित्ता कटअफ मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको हो ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार, संस्थागत लगानीकर्ताले कायम गरेको कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई शेयर बिक्री गर्नुपर्ने हुन्छ । यस अनुसार सर्वसाधारणले टाइम फर्मास्युटिकल्सको शेयर प्रतिकित्ता ४५० रुपैयाँमा पाउनेछन् ।
कम्पनीले १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको छ । जुन कम्पनीको जारी पूँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत हो । यसमध्ये ४० प्रतिशत (४ लाख ३४ हजार ६०० कित्ता) शेयर संस्थागत लगानीकर्तालाई बिक्री गरिसकिएको छ । बाँकी ६० प्रतिशत अर्थात् ६ लाख ५१ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
नेप्से स्रोतका अनुसार, कम्पनीको शेयर खरिदका लागि ४४ वटा योग्य संस्थागत लगानीकर्ताले आशयपत्र पेस गरेका थिए । असार २२ देखि २६ गतेसम्म चलेको बोलकबोल प्रक्रियामार्फत सो मूल्य र परिमाण तय भएको हो । अब कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिनेछ ।
आर्थिक वर्ष २०८२\८३ को चैत मसान्तसम्मको विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थः १६७.५१ रुपैयाँ र प्रतिशेयर आम्दानी १०.२३ रुपैयाँ रहेको छ ।
२०५२ सालमा स्थापना भएको टाइम फर्मास्युटिकल्सको उत्पादन कारखाना नवलपरासीको गैँडाकोटमा रहेको छ । कम्पनीले हाल २०० भन्दा बढी प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । स्वदेशी बजारका साथै यसले चीन र भारतलगायतका देशहरूमा समेत औषधि निर्यात गर्दै आएको छ ।





