जनकपुरः जनकपुरधामस्थित तिरहुतिया गाछी मैदानबाट आजदेखि मिटरब्याज पीडितहरूले काठमाडौंसम्म पैदल मार्च शुरु गरेका छन् ।
देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौं लक्षित पैदल यात्रा सुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाएका थिए ।
त्यसपछि मशाल प्रज्वलन गर्दै आन्दोलनको औपचारिक शुभारम्भ गरिएको थियो । मार्च शुरु हुनुअघि आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यसपटकको सङ्घर्ष अन्तिम हुने बताए ।
प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले जनकपुरधामबाटै मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि सरकार गठन भएको १०० दिन बितिसक्दा पनि बेवास्ता गरिएको उनीहरूको भनाइ छ ।





