विराटचोकः सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरेको छ । सिफारिश समितिले गरेको सिफारिशअनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गर्नुभएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त हुनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त हुनुभएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आचार्य न्याम्सको क्यान्सर विभाग प्रमुख हुनुहुन्थ्यो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान नियुक्त हुनुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त हुनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त हुनुभएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त हुुनुभएको छ ।
उपकुलपति नियुक्तिका लागि सरकारले छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो ।
समितिले उपकुलतिका लागि आवदेन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो । उपकुलपतिका लागि ११३ जनाले आवेदन दिएका थिए ।





