फिदिमः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति पाँचथरको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ, जिल्ला इन्चार्ज सीता लिम्बू र खेलप्रसाद बुढाथोकी लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
जनताका उपलब्धिमाथि प्रहार भइरहेको वर्तमान समयमा त्यसको रक्षार्थ वाम शक्तिहरुको एकता आवश्यक रहेको प्रमुख अतिथि राईले बताउनुभयो ।
कार्यक्रममा ४९९ सदस्यीय जिल्ला कमिटीको घोषणा गरी पद तथा गोपनीयताको शपथ गराइएको थियो ।
बैठकको अध्यक्षता जिल्ला संयोजक मनरथ चापागाईंले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सह–संयोजक टीका नेम्बाङले गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी घटकको २०८२ कार्तिक १९ मा पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल तथा चुनाव चिह्न तारा रहने गरी एकीकरण भई नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो ।
त्यसपछि नेकपाले प्रदेश एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी प्रदेशका १४ जिल्लामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेबमोजिम सुनसरी र ताप्लेजुङ जिल्लामा कार्यक्रम गरिसकेको प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेत बताउनुहुन्छ ।





