विराटचोकः नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । प्राधिकरणका अनुसार हवाई भाडामा जोडिने ‘फ्युल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको हो ।
प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सोबारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो ।
प्राधिकरणका अनुसार आजैदेखि नयाँ दर अनुसार हवाई भाडामा फ्युल सरचार्ज अधिकतम २ हजार ३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज–भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्युल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ ।
काठमाडौं–धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्युल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।
माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्युल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ ।




