इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट स्थापना गर्ने अनुमति पाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । सो प्लान्ट बस्ती, विद्यालय तथा मन्दिरको नजिकै पर्ने भन्दै उनीहरूले कानुनी तथा वातावरणीय मापदण्ड पूरा नभएको बताएका छन् ।
इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प चौधरीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र नगर प्रमुखको स्वीकृतिमा प्लान्ट सञ्चालनको अनुमति दिइएको हो । उनका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन समेत स्वीकृत भइसकेको छ ।
सञ्चालक पक्ष त्रिवेणी बुढा सुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले पनि सबै कानुनी प्रक्रिया पूरा गरी वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको दाबी गरेको छ । नगरपालिकाले सोही आधारमा अनुमति दिएको बताइएको छ ।
इटहरी–३ का वडाध्यक्ष सागर सुवेदीले भने वडा कार्यालयबाट यस सम्बन्धमा कुनै सिफारिश वा औपचारिक जानकारी नभएको बताएका छन् । उनका अनुसार वडामा समुदाय भेला, छलफल तथा सरोकारवालासँग पर्याप्त जानकारी आदान–प्रदान नभएको गुनासो छ ।
स्थानीयवासीका अनुसार प्रस्तावित प्लान्ट क्षेत्रको केही मिटरको दूरीमै आवासीय बस्ती रहेको छ भने नजिकै पाथीभरा मन्दिर, सनराइज स्कुल र शिखर एकेडेमी समेत रहेका छन् । यस्तो संवेदनशील स्थानमा प्लान्ट सञ्चालन हुँदा धुलो, ध्वनि तथा वातावरणीय प्रदूषण बढ्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीयले निर्णय प्रक्रिया पारदर्शी नभएको भन्दै पुनः मूल्याङ्कन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यस विषयमा इटहरी उपमहानगरपालिकाका नगर प्रमुखसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन ।
यस विषयमा उपमहानगरपालिका, वडा कार्यालय, सञ्चालक पक्ष र स्थानीयवासीबीच फरक–फरक धारणा देखिएको छ ।




