विराटचोकः कोशी प्रदेशस्तरीय सडक व्यवस्थापन कार्यशाला गोष्ठी–२०८३ मा हस्ताक्षरित प्रतिबद्धता पत्र कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा अन्य मन्त्रीहरू तथा कोशी प्रदेशका प्रमुख सचिवसँग शिष्टाचार भेट गर्नुभएको हो ।
भेटका क्रममा २०८३ जेठ १३ गते सम्पन्न कोशी प्रदेश स्तरीय सडक व्यवस्थापन कार्यशाला गोष्ठीमा भएका प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेको विषयमा छलफल गरिएको थियो ।
मुख्यमन्त्री कार्यालयको नेतृत्वमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत सहमति भएको बताइएको छ ।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि गोष्ठीमार्फत व्यक्त प्रतिबद्धताहरूलाई समेटेर प्रदेशस्तरमा ठोस योजना बनाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।




